दाहाल-नेपाल समूहको दाबी : ११५ सांसद हाम्रो बैठकमा

दाहाल-नेपाल समूहको दाबी : ११५ सांसद हाम्रो बैठकमा

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो। 

११५ जना सांसद उपस्थित बैठकले संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएको वर्षमान पुन अनन्तले जानकारी दिए। ओलीलाई कारबाही गरेर दाहाललाई नेता चयन गरेको उनले बताए। नेकपाको प्रतिनिधि सभामा १७२ सांसद छन्।

संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्री पदबाट नैतिकताका आधारमा राजीनामा दिन भनेको छ। उनले आइतबार बिहानसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए।

उनले नेपाली काँग्रेस र जसपासँग अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भइरहेको बताए। ‘काँग्रेस र जसपालाई नेतृत्व लिएर अविश्वासको प्रस्ताव पेस गर्नुहोस् हामी साथ दिन्छौ भनेका छौ, उनले उकेरासँग भने, कि हामीलाई साथ दिनुहोस्।’

यसअघि पनि संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि पुस ८ गते बसेको दाहाल नेपाल समूहको बैठकले दाहाललाई नै दलको नेता चयन गरेको थियो।

नेकपा ओली समूहको संसदीय दलको बैठक भोलि शनिवारका लागि बोलाइएको छ। बैठकमा उपस्थित हुन दलका सबै सांसदलाई एसएमएस पठाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन्। 

फागुन २१, २०७७ शुक्रबार १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।