मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार 

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार 
तस्विर : अमेरिकी दूतावास

काठमाडौँ : अमेरिकी विदेशी मन्त्रालयले यस वर्षको प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार नेपालकी मुस्कान खातुनलाई दिने निर्णय गरेको छ।

तेजाब हमला अन्त्यकी अभियन्ता खातुनलाई साहसी महिला पुरस्कार दिने निर्णय भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरेर पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ।

यसका अघिल्ला विजेताहरू मध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन्  जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्।

‘यो पुरस्कार पाउने मुस्कान पहिलो नेपाली हुन्,’ नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले ट्विटमा लेखेका छन्, खातुन यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति बनेकी छिन्।’

१५ वर्ष उमेर छँदा एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको थियो। राजदूत बेरीले खातुनलाई पुरस्कार दिने निर्णयले गर्व लागेको उल्लेख गरेका छन्। उनले नेपालीमै लेखेका छन्, ‘धेरै धेरै बधाई।’

फागुन २१, २०७७ शुक्रबार ०९:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।