नेकपा संसदीय दलको बैठकमा उपस्थित हुन दलका सांसदलाई दुवै समूहको निम्तो  

नेकपा संसदीय दलको बैठकमा उपस्थित हुन दलका सांसदलाई दुवै समूहको निम्तो  

काठमाडौँ : नेकपाको ओली र दाहाल-नेपाल समूहले संसदीय दलको बैठक बोलाएका छन्। दुवैले पार्टीका सांसदहरूलाई बैठकमा आउन निम्तो पठाएका छन्। 

नेकपाका प्रतिनिधिसभामा १७२ जना सांसद छन्। दुवै समूहले एसएमएस पठाएर बैठकमा उपस्थिति हुन भनेका छन्। नेकपा दाहाल-नेपाल समूहको आज शुक्रवार दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बस्दैछ भने ओली समूहको संसदीय दलको बैठक भोलि शनिवार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्नेछ।  

नेकपा दाहाल-नेपाल दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल हुने सांसद पम्फा भुसालले जानकारी दिइन। 

‘खास एजेन्डा तय भइसकेको छैन, उनले भनिन्, पर्सी २३ गते बस्ने प्रतिनिधि सभा बैठकमा पार्टीका सांसदको भूमिकाबारे छलफल हुनेछ।’

यस्तै ओली नेकपा दलको भोलि बस्ने बैठकमा उपस्थित हुन एसएमएस गरेर निम्तो गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। ‘उहाँहरूले आजको बैठकमा आउन भनेर एसएमएस गर्नु भएको छ,’ उनले भने, ‘हामीले पनि भोलि बस्ने संसदीय दलको बैठकमा आउन खबर गरेका छौ।’ 

फागुन २१, २०७७ शुक्रबार ०८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।