कञ्चनपुरमा प्रहरीसँग गोली हानाहान हुँदा भारतीय ‘तस्कर’को मृत्यु
काठमाडौं : कञ्चनपुरमा प्रहरीसँगको गोली हानाहानमा भारतीय ‘तस्कर’को मृत्यु भएको छ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–८, टेडियामा आज साँझ करिब ६ः३० बजे भएको गोली हानाहानमा भारत, पिलिभितका गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) अमरबहादुर थापाले जानकारी दिए।
‘हतियारसहित चारजनाको संख्यामा आएका भारतीय तस्करले गस्तीमा गएको प्रहरी टोलीलाई देखेपछि गोली चलाए,’ उनले भने, ‘ त्यसपछि प्रहरीले जवाफी फायरिङ गर्याे।’
प्रहरीको जवाफी फायरिङका क्रममा सिंहको मृत्यु भएको डिएसपी थापाले बताए।
उनीहरूको साथबाट नक्कली नोट बनाउने मेसिन, त्यसमा प्रयोग हुने कागजात बरामत भएको प्रहरीले जनाएको छ।
उक्त क्षेत्रमा भारतीय तस्करहरू लागुऔषध तस्करी गर्न आउने गरेको डिएसपी थापाले बताए।
अहिले घटनास्थलमा सुरक्षित रहेको उनले बताए। घटनास्थलमा सशस्त्र प्रहरीसँगै २५ जना प्रहरीको टोली खटिएको उनले बताए।
फागुन २०, २०७७ बिहीबार २२:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।