हिरासतमा रहेका विप्लव नेकपाका नेता–कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

हिरासतमा रहेका विप्लव नेकपाका नेता–कार्यकर्तालाई छाड्न गृहको सर्कुलर

काठमाडौं : गृह मन्त्रालयले हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ।

मन्त्रालयले आज (बिहीबार) प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेर प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पुर्याएर छाड्न र अन्य मुद्दामा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो।

यस्तै, मन्त्रालयले विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई लगाएको मुद्दाको पूर्ण विवरण ७७ जिल्लाका प्रशासन कार्यालय र प्रहरी कार्यालयसँग मागेको छ।

सरकार र विप्लव समूहबीच आज भएको वार्तामा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा, हिरासतमा रहेका नेता–कार्यकर्ताको रिहाइ गर्नेलगायत तीन बुँदे निर्णय गरेको थियो। 

उक्त निर्णयलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए। 

विप्लव नेतृत्वको नेकपामाथि सरकारले २०७५ फागुन २७ गते प्रतिबन्ध लगाएको थियो। 

त्यसयता विप्लव नेतृत्वको नेकपाका करिब २ हजार ९८ जना नेता तथा कार्यकर्ता पक्राउ परेका थिए। तीमध्ये १ सय २६ जना पुर्पक्षका लागि थुनामा छन् भने १८ जना हिरासतमा छन्।

धर्मेन्द्र बास्तोला भोलि रिहा हुँदै 

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई शुक्रबार रिहा गर्ने तयारी गरिएको छ। 

बास्तोलालाई रिहा गर्ने तयारी सुरु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ। 

बास्तोला विप्लव नेतृत्वको नेकपाका तेस्रो वरीयताका नेता हुन्।  
 

फागुन २०, २०७७ बिहीबार २१:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।