ट्रमाका निमित्त प्रमुखको दावी ‘पैसा दिन्छु भनेको हैन, खर्चको विवरण दिन्छु भनेको हो’

ट्रमाका निमित्त प्रमुखको दावी ‘पैसा दिन्छु भनेको हैन, खर्चको विवरण दिन्छु भनेको हो’

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा सन्तोष पौडेलले अनौपचारिक संवादलाई बङ्ग्याएर समाचार बनाएको दाबी गरेका छन्। उनले उकेरामा समाचार प्रकाशित भएको १८ दिनपछि खण्डन पत्र पठाएका हुन्। उनले समाचारमा फोनमा मेसिन मर्मतका प्रक्रिया र खर्चको विवरण दिन्छु भनेको विषयलाई पैसा दिन्छु भन्ने शीर्षक बनाई व्यक्तिगत र संस्थाको पेसागत प्रतिष्ठामा आँच आएको दाबी गरेका छन्।

उकेराले फागुन २ मा 'बिग्रिएको मेसिनबारे चासो राख्दा ट्रमा सेन्टरका निर्देशकले भने‘यार आउनुस् न, पैसा दिन्छु’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उनले खण्डन पत्रमा यस्तो नबोलेको दाबी गरे पनि उकेरासँग उनीसँगको अडियो संवाद सुरक्षित छ।

अडियोमा उनले ट्रमाका बिग्रिएका मेसिन नबनाई नयाँ किन्ने प्रक्रियाबारे जिज्ञासा राख्दा उकेराकर्मीलाई कार्यालयमा भेट्न आउन आग्रह साथ वीर अस्पतालमा कार्यरत एक कर्मचारीको नाम लिँदै उसैले पठाएको हो भन्दै ‘सिटी बिग्रिएको छ, एक हप्तामा बन्छ’ भनेका छन्।

उनले पैसाको अफर नगरेको दाबी गरे पनि ‘मलाई सप्पै थाहा छ। म मेसिन बिगार्दै हिँड्छु र ? प्रक्रिया हुन्छ। बनाउनु पर्छ। म तपाईँलाई लिस्ट दिन्छु यार। पैसा दिन्छु। त्यो पुरै दृष्टिकोण मलाई एक पटक भेटेपछि बदलिन्छ, तपाईँको दृष्टिकोण’ भनेको अडियो रेकर्ड उकेरासँग सुरक्षित छ।

उनले खण्डन पत्रमा ओपिडीमामा एक्स-रे मेसिन नथन्केको र चालु अवस्थामा रहेको दाबी गरेका छन्। समाचारमा ओपिडीमामा एक्स-रे मेसिनै नभएको  उल्लेख छैन। ट्रमामा रहेको डिएसए र फ्लोरोस्कोपी भारत सरकारले अनुदानमा दिएको र लामो समयसम्म नचलेका कारण केही प्राविधिक र त्यस सम्बन्धी सम्झौता पत्र नदिएकोले कानुनी समस्याहरू रहेको उनैले स्विकार गरेका छन्।

उनले आफू कार्यालय प्रमुख भएदेखि ती मेसिन सञ्चालनको पहलकदमी लिइएको खण्डन पत्रमा दाबी गरिएको छ। उनले आफू कार्यालय प्रमुख भएदेखि कुनै पनि निजी संस्थामा काम नगरेको दाबी गरेका छन्। समाचारमा उनी नीजि संस्थामा काम गरेको उल्लेख छैन।

ट्रमामा भएका बदमासीबारे उजुरी परेपछि स्वास्थ्य मन्त्रालयले नै उनको गतिविधिबारे छानबिन गर्न समिति नै गठन गरिसकेको छ। ट्रमा सेन्टर व्यवस्थापकले यस बिचमा खरिद गरेका उपकरण लगायतका सामाग्रीको पूर्ण विवरण उपलब्ध गराउन उकेराकर्मीले सूचनाको हक सम्बन्धी कानुन अनुसार दर्ता गराएको निवेदन अनुसारको विवरण दिन व्यवस्थापकले आलटाल गरिरहेका छन्।

फागुन २०, २०७७ बिहीबार १९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।