सुनको आपूर्ति बढाउन पहल गर्ने आपूर्तिमन्त्रीको प्रतिवद्धता
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यावसायीहरूले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका हुन्।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा बिहीबार गएको सुनचाँदी व्यावसायी महासंघको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको बताए।
बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने उनको भनाइ छ।
त्यस क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएकाले यो समस्याको तत्काल समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गरिएको लकडाउनमा घटाएको सुनको कोटा अझै नबढाएकाले समस्या देखिएको अध्यक्ष शाक्यको भनाइ छ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुने गरेको छ।
तर, बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेको अध्यक्ष शाक्यको भनाइ छ। त्यसकारण तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने उनले माग गरे। आवश्यकता अनुसार कच्चा सुन सहजरूपमा उपलब्ध नहुँदा बजारमा अवैधरूपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उनको भनाइ छ।
लकडाउनअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो।
यसैबीच, नेपाल सुनचाँदी व्यावसायी महासंघको ८ औं स्थापना दिवस बिहीबार सम्पन्न भएको छ। महासंघको केन्द्रीय कार्यालय, सातैवटा प्रदेश र सवै जिल्लामा विभिन्न कार्यक्रम गरी सो दिवस मनाइएको हो।
फागुन २०, २०७७ बिहीबार १६:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।