नेफ्टा अवार्डमा प्रस्तुति दिन नृत्य अभ्यास गर्दै कलाकार
काठमाडौं : आगामी शनिबार काठमाडौंमा हुन लागेको नेफ्टा फिल्म अवार्ड कार्यक्रममा प्रस्तुति दिन कलाकारहरू नृत्य अभ्यासमा जुटेका छन्।
सुरक्षा पन्त, प्रमोद अग्रहरी, सलोन बस्नेत, शोभित बस्नेत, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रुबिना थापा, जेविका कार्कीलगायत कलाकारहरू राष्ट्रिय नाचघरमा नृत्य अभ्यास गरिरहेका छन्।
उनीहरूलाई नृत्य निर्देशक नरेशवीर सिंहले नृत्य सिकाइरहेका छन्।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण गत वर्ष स्थगित गरिएको १० औं नेफ्टा फिल्म अवार्ड काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुन लागेको बताइएको छ।
नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको अवार्ड कार्यक्रमलाई एलआइसी नेपालले प्रायोजन गरेको छ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण सुस्ताएको चलचित्र क्षेत्र अवार्ड कार्यक्रमपछि चलायमान हुने अपेक्षा गरे।
कोरोना महामारीपछि पहिलो पटक हुन लागेको उक्त कार्यक्रम भव्य हुने लामाको दाबी छ। ‘अवार्ड कार्यक्रमलाई मनोरञ्जन दिनका लागि कलाकारहरूले नृत्य अभ्यास गरिरहनुभएको छ,’ उनले भने।
यसअघि विदेशमा हुँदै आएको उक्त अवार्ड कार्यक्रम यसपटक कोरोना त्रासका कारण स्वदेशमै गरिन लागिएको संघका अध्यक्ष लामाले जानकारी दिए।
फागुन २०, २०७७ बिहीबार १५:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।