भारतबाट फर्किएर बाबुरामले भने‘चुनावी सरकार बनाऔँ’
काठमाडौँ : स्वास्थ्य उपचारका लागि भारत गएर फर्किएका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले चुनावी सरकार गठनको प्रस्ताव गरेका छन्। आज नेपाल फर्किएपछि उनले ट्विटगर्दै राजनीतिक सहमतिको आधारमा चुनावी सरकार गठनको प्रस्ताव गरेका हुन्।
सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरे पनि राजनीतिक गतिरोध समाधान हुनुको साटो नेकपाको विवादले थप जटिल बन्दै गएको बेलामा भट्टराईबाट अकस्मात् चुनावी सरकारको प्रस्ताव सार्वजनिक भएको हो।
दश दिनको प्रवासपछि स्वदेश फर्कँदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको लेख्दै उनले अहिले देखिएको राजनीतिक गतिरोधको जरो २०६५–०६६ पछि राजनीतिक सहमति भत्कनु रहेको उल्लेख गर्दै‘ माफी दिँदै र बिर्सँदै’ राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्न सुझाव दिएका छन्।
यसका लागी टिआरसी लगायत शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिको आधारमा संविधान संशोधन गर्ने, संवैधानिक अङ्गलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहद गुरुयोजना बनाएर कार्यान्वयन गर्ने र विश्व छिमेकमा बदलिँदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यतः भारत–चीन र अमेरिकासँग असल सम्बन्ध बनाउन सुझाव दिएका छन्।
दश दिनको प्रवासपछि स्वदेश फर्कदा आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनायो।यसो गरौं न: १.ऐलेको समस्याको जरो०६५/६६पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउॅमा फर्कनू भने झैं एक पटक Forgive&Forgetको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसंगै यी काम गरौं:..२
— Baburam Bhattarai (@brb1954) March 2, 2021
फागुन १८, २०७७ मंगलबार २०:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।