ताप्लेजुङको दोभान बजारमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा
काठमाडौं : ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३, दोभान बजारमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ।
ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले मंगलबार बिहान ९ बजे लागेको आगो दिउँसो १ बजेतिर नियन्त्रणमा आएको जानकारी दिइन्।
‘अहिले जलेका घरमा रहेको आगो निभाउन थालिएको छ,’ उनले भनिन्, ‘आगलागी नियन्त्रणमा आइसकेकाले थप जोखिम छैन।’
आगलागी नियन्त्रणका लागि दुईवटा दमकलसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसँगै स्थानीय खटिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिइन्।
४९ घर नष्ट
आगलागीबाट ४९ घर जलेर नष्ट भएको उनले बताइन्। ती घरमा बस्ने ३३ घरधनी र २२ डेरावालका परिवार विस्थापित भएको जानकारी दिइन्।
आगलागीका विस्थापितहरूलाई बस्ती नजिकैको खाली ठाउँमा टेन्ट गाडेर बस्ने व्यवस्था मिलाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ।
आगलागीबाट भएको क्षतिबारे लगत संकलन गरेपछि मात्रै जानकारी हुने सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताइन्।
विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
फागुन १८, २०७७ मंगलबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।