सरकारसँग वार्ता गर्न विप्लव समूहद्वारा टोली गठन
काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गर्न टोली गठन गरेलगत्तै ‘विप्लव’ समूहले पनि सरकारसँग वार्ताका लागि दुई सदस्यीय टोली गठन गरेको छ।
नविप्लवले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन जनाएका छन्। टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन्।
‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी सहमत भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
सरकारले विप्लव समूहसँग वार्ताका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ। टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सदस्य छन्।
फागुन १८, २०७७ मंगलबार १५:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।