विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा टोली गठन 

विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा टोली गठन 

काठमाडौँ : सरकारले प्रतिबन्धित विप्लव नेकपासँग वार्ता गर्न दुई सदस्यीय टोली बनाएको छ। गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको हो। 

सरकारका प्रवक्ता पार्वत गुरुङले दुई सदस्यीय वार्ता टोली गठन भएको जानकारी दिए। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता गुरुङले आजै वार्ता टोली गठन गरेको बताए। 

उनले विप्लव समुहमाथि लागेको प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको रिहाइ लगायतका माग वार्ताद्वारा नै समाधान गरिने बताए। ‘वार्ता गर्नुभन्दा अगाडि नै हल गरियो भने वार्ताको औचित्य सकिन्छ’ उनले भने, ‘विप्लव समूह पनि छिट्टै वार्तामा आउँछ भन्ने सरकारको विश्वास छ।’

उनले सबैलाई शान्ति प्रक्रियामा ल्याउन सबै सशस्त्र समूह र द्वन्द्वमा रहेकालाई वार्तामा ल्याउने बताए। विप्लव नेकपाका माग वार्ताद्वारा नै टुङ्गो लगाउन नै वार्ता टोली गठन गरिएको सरकारका प्रवक्ता गुरुङले बताए। 

फागुन १८, २०७७ मंगलबार १३:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।