पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ।
सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको आयल निगमले जनाएको छ। आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँ बढाइएको छ।
नयाँ मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १ सय १६ रूपैयाँ कायम भएको छ। यस्तै, डिजल र मट्टितेल प्रतिलिटर ९९ रूपैयाँ तोकिएको छ।
यस्तै, हवाई इन्धन (आन्तरिक उडानतर्फ) प्रतिलिटर ५ रूपैयाँ बढेर ७२ रूपैयाँ कायम भएको आयल निगमले जनाएको छ। यसैगरी, हवाई इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) प्रतिकिलोलिटर २५ अमेरिकी डलरले बढेर ८९३ प्रतिकिलोलिटर कायम गरिएको छ।
इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसूची अनुसार नै मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर ६ रूपैयाँ ५६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलण्डर ३९२ रूपैयाँ ८२ पैसा घाटा रहेको निगमले जनाएको छ।
निगमले यसअघि यही फागुन ४ गते पेट्रोलियम पदार्थमा मूल्य बढाएको थियो।
फागुन १७, २०७७ सोमबार २३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।