‘कानुन कार्यान्वयन गर्न सञ्चार माध्यमको अनुगमन र खबरदारी आवश्यक’

‘कानुन कार्यान्वयन गर्न सञ्चार माध्यमको अनुगमन र खबरदारी आवश्यक’

काठमाडौं : राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले कानुन कार्यान्वयन गर्न सञ्चार माध्यमले निरन्तर अनुगमन र खबरदारी गर्न आवश्यक रहेको औंल्याएकी छन्।

१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आज (सोमबार) सिंहदरबारमा आयोजना गरिएको पत्रकार महिलाहरूसँगको अन्तरक्रियामा दाहालले कानुन कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चार माध्यमले गर्ने खबरदारी प्रभावकारी हुने बताएकी हुन्। 

संसद्ले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानुनहरू बनाएको भए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो रहेको उनले बताइन्। 

उपाध्यक्ष दाहालले लैंगिक विभेद, महिला हिंसाका घटनाहरू न्यूनीकरण गर्न आफ्नो ठाउँमा सक्दो कदम चाल्ने प्रतिबद्धता व्यक्त गरिन्। 

कार्यक्रममा सहभागी पत्रकार महिलाहरूले नेपालमा कानुन बने पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताए। कानुन बनेपछि पनि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलासमेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानुन कार्यान्वयन भए/नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको उनीहरूको भनाइ थियो। 

कानुन निर्माणको चरणमै गम्भीर छलफल र अध्ययन गरेर मात्रै ऐन निर्माण गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। उनीहरूले ऐन–कानुन नहुँदा र बनेका कानुनहरू कार्यान्वयन नहुँदाको समस्या उत्तिकै रहेको बताए। 

साथै उनीहरूले कानुन निर्माणमा लैंगिक संवेदनशीलतालाई ख्याल गर्नुपर्नेमा जोड दिए। 

कार्यक्रममा पत्रकारहरु वन्दना राणा, बबिता बस्नेत, यशोदा तिम्सिना, निर्मला शर्मा, संगीता खड्का, नितु पण्डित, चन्दा विष्ट, विनु सुवेदी, भाषा शर्मा, शोविता रिसाल, रुवि रौनियार, सविता शर्मा, कमला हमाल, श्वेता सिन्हा, लक्ष्मी बस्नेत लगायतले बोलेका थिए। 

कार्यक्रम संघीय संसद् सचिवालयले आयोजना गरेको हाे। 

फागुन १७, २०७७ सोमबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।