आधिकारिक विवाद टुङ्ग्याउन निर्वाचन आयोगलाई दबाब दिँदै दाहाल–नेपाल समूह
काठमाडौँ : प्रतिनिधि सभाको अधिवेशन बस्नु अगाडि नै निर्वाचन आयोगमा पुगेको सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीको कुन समूह आधिकारिक हो टुङ्गो लगाउन दुवै समूहले आग्रह गर्दै आएको छ। दाहाल–नेपाल समूहले निर्वाचन आयोगले जानाजान ढिलाइ गरेको आरोप लगाउँदै आएको छ।
सरकारले अधिवेशन २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस भएसँगै अधिवेशन आव्हान भइसक्यो। तर आयोगले नेकपा विवाद टुङ्ग्याउन चासो देखाएको छैन। कानुनी रूपमा विवाद नटुङ्गिए संसद्मा दाहाल–नेपाल समूह सत्ताधारी दलकै रोहमा बस्नुपर्नेछ।
उनीहरू सकेसम्म संसद् बैठक अगाडि नै आधिकारिकता विवाद टुङ्ग्याउन आयोगलाई दबाब दिने पक्षमा छन्।
त्यसैको तयारीका लागि सोमबार बसेको दाहाल–नेपाल समूहको सचिवालय बैठकले पार्टी विवाद छिटो टुङ्गो लगाउन आयोगलाई अनुरोध गर्ने निर्णय गर्यो। आयोगलाई दबाब दिन र दलहरूबिचको समीकरणका विषयमा छलफल गर्न फागुन १९ गते केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय समेत भएको नेता गणेश शाहले जानकारी दिए।
पार्टीको आधिकारिक निर्णय गराउन आयोगलाई दबाब बढाउनुको विकल्प रहेन दाहाल-नेपाल नेकपाको स्थायी कमिटीका सदस्य शाहले उकेरासँग भने, कुन पार्टी आधिकारिक नेकपा हो त्यसको अव छिनोफानो हुनुपर्छ।’
फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान भएकाले पार्टीको आधिकारिक विवाद १९ गतेभित्रै छिनोफानो गराउन आयोगलाई दबाब दिने शाहले बताए।
अधिवेशन आह्वान भएको पत्र आजै सङ्घीय संसद् सचिवालयमा जाने राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए। ‘राष्ट्रपतिको हस्ताक्षर भएको पत्र सभामुखलाई पटाउँछौँ,’ प्रवक्ता पन्तले भने, ‘राष्ट्रपति कार्यालयबाट ढिलो हुँदैन।’
पत्र पाएपछि सभामुख अग्नि सापकोटाले २३ गते बस्ने बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक राख्ने छन्। तर निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ आधिकारिकता विवाद टुङ्गो लगाउने दिन कहिले हो भन्न नसकिने बताउँछन्।
ऋषिराम कट्टेलको नेकपाले आफूहरू आधिकारिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको फैसला फागुन २० गते सुनाउँदै छ। आयोगले पहिल्यै दर्ता भइसकेको पार्टीको नामको पछाडि अक्षर छुट्टाएर नयाँ दलको मान्यता दिएकाले सर्वोच्चबाट तत्कालीन एमाले र माओवादी एकीकृत भएर राखिएको नाम नेपाल कम्युनिस्ट पार्टी ने क पा नै बदर हुनसक्ने सम्भावना पनि छ।
०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको थियो। यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो।
२०७४ सालको निर्वाचनपछि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएर एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी ने क पा राखेपछि कट्टेल नेकपा सर्वोच्च अदालत पुगेका थिए। यसको छिनोफानो फागुन २० मा हुँदै छ।
फागुन १७, २०७७ सोमबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।