राष्ट्रपति कार्यालयमा सिफारिस पठाएर प्रधानमन्त्री ओली पोखरामा 

राष्ट्रपति कार्यालयमा सिफारिस पठाएर प्रधानमन्त्री ओली पोखरामा 

काठमाडौँ : फागुन २३ गतेलाई संसद् अधिवेशन आव्हानको सिफारिस गरेर प्रधानमन्त्री केपी शर्मा ओली पोखरा गएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको फागुन २३ गतेलाई संसद् अधिवेशन आव्हान गर्ने निर्णय राष्ट्रपति कार्यालयमा सिफारिस पठाउने निर्णय पठाएर ओली पोखरा गएका हुन्। 

कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले आज बसेको बैठकले २३ गतेलाई अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको बताइन। प्रधानमन्त्रीसँगै स्याङ्जाबाट निर्वाचित सांसद एवं मन्त्री अर्याल पनि पोखरा गएकी छन्। 

‘हामी एयरपोर्टमै छौ, आवाज सुनिएन उनले उकेरासँग भनिन्, २३ गतेलाई बोलाउन सिफारिस भएको छ।’  

राष्ट्रपतिको कार्यालयले पनि फागुन २३ गतेलाई संसद् बैठक बोलाउने मिति तोकेर मन्त्रिपरिषद्को सिफारिस आएको जनाएको छ। ‘भरखरै सिफारिस आएको छ, राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले उकेरासँग भने, एक दुई घण्टामा राष्ट्रपतिबाट फागुन २३ गतेलाई संसद् अधिवेशन आव्हान हुन्छ।’ 

मन्त्रिपरिषद् बैठक सकेर प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र मन्त्री अर्याल गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्न पोखरा महानगरपालिका वडा नं ३ नदीपुर गएका हुन्। 

प्रतिष्ठानको शिलान्यासपछि पोखरा सभागृहमा नेकपा ओली समूहका अगुवा कार्यकर्ताको भेलामा प्रधानमन्त्री सहित मन्त्रीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। काठमाडौँ फर्कनु अघि पोखरा रङ्गशालाको अवलोकन गर्ने कार्यक्रम समेत रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

फागुन १७, २०७७ सोमबार ११:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।