‘मौसमको प्रवृत्ति’ 

‘मौसमको प्रवृत्ति’ 

काठमाडौँ : आजदेखि जाडोयाम सकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हरेक वर्षको मार्च १ तारिखलाई प्रि-मनसुन सुरु भएको मानिने भएकाले जाडोयाम सकिएको विभागले बताएको छ। 

बिहान ७ बजे जारी गरेको प्रि-मनसुन मौसम बुलेटिनमा विभागले यो वर्षको जाडोयाम आज मार्च १ बाट सकिएको उल्लेख गरेको छ। ‘यो वर्षको जाडोयाम आजबाट समाप्त भई २०७७ फागुन १७ गते मार्च १ तारिख सन् २०२१ बाट प्रि-मनसुन सिजन प्रारम्भ हुन लागेको जानकारी गराइन्छ’ बुलेटिनमा उल्लेख छ।

उसले यस्तो मौसममा मेघ गर्जन/चट्याङ/हावाहुरी/असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ। 

अङ्ग्रेजी मार्च, अप्रिल र मे महिनालाई प्रि मनसुन भनिन्छ। मौसमको केही भर हुँदैन। जुनसुकै वेला परिवर्तन देखिन सक्छ। लगातार तापक्रम बढिरहेकाले जाडोयाम सकिएको मौसमविद् प्रतिभा मानन्धरले बताइन्। 

दुई/तीन हप्तादेखि दैनिक तापक्रम बढिरहेको छ। आजको अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियस पुग्ने अनुमान विभागले गरेको छ। हिजो बिहान साढे १० बजेको तापक्रम १२ दशमलव ४ डिग्री सेल्सियस थियो भने आज पनि उही नै रहेको मौसमविद् मानन्धरले जानकारी दिइन। 

राती बादल लागेको छ भने बिहानको न्यूनतम तापक्रम बढी हुने र बादल नलागेको दिन कम हुने गरेको उनले बताइन। ‘बादल लाग्दा चिसो बाहिर पठाउँदैन मानन्धरले भनिन्, त्यो दिनको न्यूनतम तापक्रम बढी हुन्छ।’ 

 ‘भूगोल अनुसार धेरै थोरै जाडो र गर्मी हुन्छ, पहाडले घेरिएको कचौरा जस्तो काठमाडौँमा धेरै जाडो हुन्छ, उनले उकेरासँग भनिन्, सबै ठाउँको मौसम एकैनास हुँदैन।’ उनले आजदेखि मौसमको प्रवृत्ति बदलिएर प्रि-मनसुन सुरु भएको बताइन। 

फागुन १७, २०७७ सोमबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।