ग्लोबल पिस इन्डेक्स भन्छ– दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक 

ग्लोबल पिस इन्डेक्स भन्छ– दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक 

काठमाडौं : दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक रहेको एक अध्ययनले देखाएको छ। 

ग्लोबल पिस इन्डेक्सले गरेको अध्ययन अनुसार दक्षिण एसियामा नेपाल दोस्रो शान्त मुलुक रहेको देखिएको हो। 

विश्वभरका मुलुकको सूचीमा भने नेपाल ७३ औं स्थानमा छ। नेपालको १ हजार ९ सय ७४ अंक छ। 

अध्ययनले नेपाललाई मध्यम तहको शान्त मुलुक रहेको देखाएको छ। 

दक्षिण एसियामा भुटान सबैभन्दा बढी शान्त मुलुक रहेको अध्ययनले देखाएको छ। समग्रमा ऊ १९ औं स्थानमा छ। अध्ययन अनुसार भुटान उच्च शान्त मुलुक हो। 

यस्तै, दक्षिण एसियामा श्रीलंका, बंगलादेश, भारत, पाकिस्तान र अफगानिस्तान क्रमशः तेस्रोबाट सातौं स्थानमा छ। 

अध्ययनले श्रीलंका र बंगलादेशलाई मध्यम शान्त मुलुक रहेको देखाएको छ। यस्तै, भारतलाई न्यून शान्त तथा पाकिस्तान र अफगानिस्तानलाई एकदमै न्यून शान्त मुलुकका रूपमा वर्गीकरण गरेको छ। 

अफगानिस्तान विश्वभरका देशहरूको सूचीमा सबैभन्दा पुछारमा छ। 

अध्ययनले अध्ययनमा माल्दिभ्सबारे उल्लेख गरिएको छैन। 

यो सूचीमा सर्वाधिक शान्त मुलुक आइसल्याण्ड भनिएको छ। त्यसपछि न्युजिल्याण्ड, अस्ट्रिया, पोर्चुगल र डेनमार्क क्रमशः दोस्रोबाट पाँचौं स्थानमा छन्। 

अध्ययनले विश्वभरका १ सय ६३ मुलुकलाई एकदमै उच्च, उच्च, मध्यम, न्यून, एकदमै न्यून शान्त मुलुक गरी पाँच तहमा विभाजन गरेको छ। 

फागुन १६, २०७७ आइतबार २१:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।