सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

काठमाडौँः काठमाडौँ महानगरपालिका–३५ जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रबलीकरणको काम सुरु भएको छ। आइतबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले संयुक्त रूपमा प्रबलीकरणको प्रारम्भ गरेका हुन्।

२०७२ को भूकम्पबाट क्षतिग्रस्त मन्दिरको प्रबलीकरणका लागि भारत सरकारले ६ करोड २६ लाख रुपैयाँ अनुदान दिएको छ।

सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको करिब पाँच अर्ब ८० करोड  रुपैयाँ आर्थिक अनुदानअन्तर्गत पुनर्निर्माण हुन लागेका २८ सम्पदामध्ये यो पहिलो परियोजना हो ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुरानै प्रविधि, परम्परागत निर्माण सामग्री प्रयोग गरेर मन्दिरको प्रबलीकरण गरिने बताए। भूकम्पबाट क्षतिग्रस्त ४ सय ६५ पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न भइसकेको उल्लेख गर्दै उनले भारत सरकारको सहयोगमा पुनर्निर्माण हुने सम्पदाहरूको काम अगाडि बढ्ने जानकारी दिए। 

भारतीय राजदूत क्वात्राले नेपालका पुरातात्त्विक सम्पदा दुई देशको सम्बन्धमा आधारशिला भएको उल्लेख गर्दै यी सम्पदा संरक्षणमा गर्न पाउनु भारतका लागि खुसीको कुरा भएको बताए। 

सम्पदा पुनर्निर्माण तथा प्रबलीकरणको डिजाइन तथा पुरातात्त्विक अनुगमन पुरातत्त्व विभागले गर्दछ भने प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले ठुला सम्पदाको कार्यान्वयन गराउँछ । 

 

फागुन १६, २०७७ आइतबार १७:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।