नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना हुने 

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना हुने 

काठमाडौं : नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन आयोजना हुने भएको छ। 

नेपाल गणित समाजले आगामी चैत २७ देखि २९ गतेसम्म जुममार्फत ‘इन्टरनेसनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्स–२०२१’ आयोजना गर्न लागेको हो। 

समाजका अनुसार सम्मेलनमा नेपाली गणित विज्ञ तथा शोधकर्ताहरूलाई सहभागी गराउने लक्ष्य राखिएको छ। 

समाजका अध्यक्ष प्रा.डा.चेतराज भट्टले गणित विधाको अनुसन्धानमा अग्रणी भूमिका निर्वाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए। 

समाजका सचिव डा. दिनेश पन्थीले गणितीय विधाको अनुसन्धानमा सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे। 

सम्मेलनमा शुद्ध एवं प्रायोगिक गणित विषय अन्तर्गतका २३ विधा समेटिएका छन्। 

सम्मेलनमा इटली, मोरक्को, बंगलादेश, भारतलगायत करिब २० वटा देशका गणित विज्ञ तथा शोधार्थीहरूले आफ्ना शोधकार्य प्रस्तुतीका लागि आवेदन दिएका छन्। 

सम्मेलनबाट गणित विधामा विश्वव्यापीरूपमा भइरहेको अध्ययन/अनुसन्धानबारे नेपाली गणितविज्ञ परिचित हुने छन्। यस्तै, देशभित्र भइरहेका अध्ययन/अनुसन्धानबारे अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने सम्मेलनको उद्देश्य छ। 

सम्मेलनमा पाँचवटा ख्याति प्राप्त गणितविज्ञका प्लेनरी कार्यपत्र प्रस्तुत गरिने तयारी छ। यस्तै, २५ वटा आमन्त्रित कार्यपत्र पेस हुनेछन्। 

स्वदेश तथा विदेशका गरी करिब १ सय २० वटा अनुसन्धानात्मक कार्यपत्र पेस गरिने समाजले जानकारी दिएको छ। सम्मेलनमा साढे २ सयभन्दा बढी गणितज्ञको सहभागिता रहने आयोजकको अनुमान छ। 

फागुन १६, २०७७ आइतबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।