काँग्रेस नेता जोशीको स्वास्थ्यमा थप सुधार, तर जोखिम कायमै
काठमाडौँ : नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य शनिवारको तुलनामा आइतबार थप सुधार भएको देखिएको छ। उनको उपचारमा संलग्न चिकित्सकका अनुसार जोखिम भने अझै हटिसकेको छैन।
नर्भिक अस्पतालमा उपचार गराइरहेका उनको आइतबार दायाँतर्फको हातखुट्टा चल्ने क्रम बढेको अस्पतालका न्युरो सर्जन डा. राजीव झाले उकेरालाई जानकारी दिए।
उनले भने,‘दायाँ साइडको हातखुट्टाको मुभमेन्ट बढी छ।’ तर, बायाँतर्फको भाग भने अझै पनि चलेको छैन।’ उनको स्वास्थ्य अवस्थामा भने सुधार भइरहेको उनले जानकारी दिए।
उनको टाउकोको सिटिस्क्यान गर्दा टाउकामा जमेको पानी र रगत निस्किरहेको देखिएको उनले बताए। डा. झाले भने,‘टाउकामा जमेको धेरै भएको पानी, रगत निस्किरहेको देखिन्छ।’ टाउकामा जमेको पानी र रगत फाल्न उनको शल्यक्रिया गरिएको थियो।
तर, अहिले नै उनको अवस्था कस्तो हुन्छ भन्ने कुरा भन्न नसकिने डा. झाले जानकारी दिए। उनले भने,‘अहिले तुरुन्तै भन्न गाह्रो छ। ४÷५ दिनपछि उनको स्वास्थ्य कस्तो हुन्छ भन्न सकिन्छ।’
उपचार गराइरहेको उनलाई मस्तिष्क घात भएको हो। स्वास्थ्य समस्या भएपछि शुक्रवार उनी अस्पताल भर्ना भएका थिए।
फागुन १६, २०७७ आइतबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।