अदालतको अवहेलना मुद्दामा दाहालले पेस गरे लिखित जवाफ 

अदालतको अवहेलना मुद्दामा दाहालले पेस गरे लिखित जवाफ 

काठमाडौं : अदालत अपहेलना मुद्दामा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा आज (आइतबार) लिखित जवाफ पेस गरेका छन्। 

दाहालले आफै सर्वाेच्चमा उपस्थित भएर लिखित जवाफ बुझाएका हुन्। उनले आफ्नो जवाफमा अदालतको अपहेलना नगरेको उल्लेख गरेका छन्। 

अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै दाहालविरुद्ध दायर गरिएको रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले गत माघ २१ गते उनलाई सात दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। 

संसद् विघटनविरुद्धको आन्दोलनका क्रममा काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा दाहालले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले दाहालविरुद्ध रिट निवेदन दर्ता गरेका थिए। 

फागुन १६, २०७७ आइतबार ११:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।