प्रधानमन्त्री गृहजिल्ला पुग्दै, आजै ३ पुलको उद्घाटन र ३१ पुलको एकसाथ शिलान्यास गर्ने
इटहरी : प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) गृहजिल्ला झापा पुग्ने भएका छन्।
उनी ३ पुलको उद्घाटन र ३१ पुलको शिलान्यास तथा ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को शिलान्यास गर्न झापा पुग्न लागेका हुन्।
प्रधानमन्त्री ओली काठमाडौंको त्रिभुवन विमानस्थलबाट यति एयरलाइन्सको विमानबाट झापाको भद्रपुर विमानस्थलमा ओर्लिने छन्। त्यहाँबाट उनी आफ्नो निर्वाचन क्षेत्र (झापा, क्षेत्र नम्बर ५) पुगेर कमल खोलाको पुल उद्घाटन गर्ने छन्।
त्यसपछि उनले मोरङको उर्लाबारी नगरपालिकास्थित मावा बेतिनी खोलामा निर्मित पुल उद्घाटन गर्ने कार्यतालिका छ। यस्तै, उनी आजै कमल गाउँपालिका, गौरादह नगरपालिका र दमक नगरपालिका क्षेत्रमा निर्माण हुन लागेको ‘चीन–नेपाल मैत्री औद्योगिक पार्क’को शिलान्यास गर्दैछन्।
पार्क उद्घाटनपछि प्रधानमन्त्री ओलीले दमक–१ मा रहेको आँखा अस्पतालबाट इलामको चुलाचुली जोड्ने सडकमा पर्ने रतुवा खोलाको पुल उद्घाटन गर्ने कार्यक्रम छ।
त्यसपछि उनी दमक बेलडाँगीस्थित इलामको बकुवा बीचमा पर्ने रतुवा नदीको पुलसहित मदन भण्डारी लोकमार्ग अन्तर्गतको धरान–बाहुँनडाँगी खण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्यास गर्नेछन्।
प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं फर्कने छन्।
फागुन १६, २०७७ आइतबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।