ने क पा विवाद समाधानका लागि छलफल गर्दै निर्वाचन आयोग 

ने क पा विवाद समाधानका लागि छलफल गर्दै निर्वाचन आयोग 

काठमाडौं : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) आधिकारिकतासम्बन्धी विवाद समाधानका लागि छलफल थालेको छ। 

यसका लागि सम्बन्धित पक्षसँग अनौपचारिक छलफल गरिरहेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले ने क पाको आधिकारिकतासम्बन्धी विवादबारे आयोगले अध्ययन तथा परामर्श गरिरहेको जानकारी दिए।

‘यो विषयमा छलफलका लागि पत्र काटेरै त कसैलाई बोलाएका छैनौं। तर, ने क पा नेता तथा अन्य जानकारसँग अनौपचारिकरूपमा छलफल गरिरहेका छौं,’ उनले भने। 

चाडोभन्दा चाडो विवाद समाधान गर्न आयोग लागिपरेको उनको भनाइ छ। ‘विवाद समाधान भोलि पनि हुन सक्छ। केही समय पनि लाग्न सक्छ,’ उनले भने। 

सर्वाेच्च अदालतले गत मंगलबार संसद् विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि आयोग निर्वाचनको तयारी छाडेर ने क पा विवाद समाधानमा सक्रिय देखिएको हाे। 

केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गरेकी थिइन्। 

संसद् विघटनपछि ने क पाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पार्टीमा आफ्नो आधिकारिकताको दाबी गर्दै आयोगमा निवेदन दर्ता गरेको थियो। 

फागुन १५, २०७७ शनिबार १७:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।