ओली सकुनीको भूमिकामा छन् : दाहाल
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली महाभारतको पात्र ‘सकुनी’को भूमिकामा रहेको बताएका छन्।
नेकपा दाहाल–नेपाल समूहको शिक्षकहरूको भेलामा अध्यक्ष दाहालले ओलीमा सकुनीजस्तै बेइमानी, जालझेल, छलकपटलगायत गुण रहेको आरोप लगाए।
‘चाणक्य नीतिबाहेक केही पढेनछन्, खाली महाभारत र चाणक्यको कुरा गर्छन्,’ दाहालले भने, ‘महाभारतमा जस्तै ओली अहिले सकुनीको भूमिकामा छन्।’
दाहालले ओलीमा विचार, सिद्धान्त, निष्ठा र इमानदारिता नरहेको बताए।
ओलीले पार्टी एकतामा गरेको सम्झौता र हस्ताक्षर नमान्दा पीडित पीडित एकै ठाउँमा भएको दाहालको भनाइ छ। ‘जबज छोड्नेमा पहिलो हस्ताक्षर गर्ने ओली, अहिले आफूलाई दाबेदार भएजस्तो देखाउन बेइमानी र जालसाजीपूर्ण प्रचारबाजी गरिरहेका छन्,’ उनले भने, तपाई)हरूले सत्य के हो भनिदिनुपर्छ।’
दाहालले अनुहार हेरेर एकता नभएको बताउँदै विचार मिलेर नै एकता भएको बताए। पार्टी एकता भएको एक महिनामै ओलीले झुट, बेइमानी र अनैतिक काम गरेको बताउँदै उनले भने, ‘आफूले गरेका हस्ताक्षर लागु नगर्ने, एक्लै आइएम द स्टेट भन्या जस्तो गरी श्री ३ महाराजाधिराज।’
ओलीले अहिले आफूलाई महाराजाधिराज भएजस्तै ठानेको दाहालको आरोप छ। ‘आफूले भनेपछि त्यो ब्रह्म व्याख्या जस्तो मानिदिनु नै पर्ने,ण् नमान्ने मान्छे अगाडि देख्नै नहुने,’ ओलीको व्यवहारप्रति इंगित गर्दै उनले भने, ‘यो महाराजधिराजहरुकै चरित्र हो।’
उनले ओली अहिले अर्को वर्गमा पतन भएको बताए। ‘उहाँ अब हाम्रो वर्गको रहनु भएन,’ उनले भने, ‘उहाँ अर्को वर्गमा पतन हुनुभयो।’
फागुन १५, २०७७ शनिबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।