विप्लव नेकपाका सप्तरी जनसत्ता प्रमुख पक्राउ

विप्लव नेकपाका सप्तरी जनसत्ता प्रमुख पक्राउ

सप्तरी : प्रहरीले विप्लव नेकपाका सप्तरी जिल्लाका जनसत्ता प्रमुख रामनाथ मण्डललाई पक्रेको छ। खडक नगरपालिका बनरझुल्ला टोल बस्ने ५२ वर्षका आदर्श उपनामका मण्डलालाई पक्रेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

प्रहरीले मण्डलसँगै विप्लव नेकपाका जिल्ला सदस्य उदय उपनामका राजविराजका उदयनाथ मण्डल र विष्णुपुरका रामकृष्ण मण्डललाई पक्राउ गरेको जनाएको छ।

जिल्लामा केही समय यता विभिन्न व्यवसायी, कार्यालय प्रमुख तथा जनप्रतिनिधीहरुसंग चन्दा माग गर्ने र धाक धम्की दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए। 

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले चन्दा माग गर्ने तथा धम्की दिने सिम सहितको मोबाइल १ र अन्य सिम सहितको ३ गरी ४ थान मोबाइल बरामद गरेको छ।

यस्तै जन विद्रोह लेखिएको किताब १ थान, वीर मधेसी लेखिएको किताब १ थान र युवा सङ्गठन नेपाल साधारण सदस्यता ठेली  १ थान बरामद गरेको शाहले जानकारी दिए। 

यस्तै अखिल नेपाल महिला सङ्गठन क्रान्तिकारी लेखिएको आर्थिक सहयोग बारेको पत्र ४ पाना, युवा सङ्गठन नेपाल विशेष आर्थिक सहयोग बारेको पत्र १ पाना, अखिल नेपाल किसान महासङ्घ केन्द्रीय समिति लेखिएको पर्चा १ पाना, ने.क.पा.जिल्ला सप्तरीको मिति २०७७।०३।१६ गतेको पर्चा १ पाना बरामद गरेको छ। 

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

फागुन १५, २०७७ शनिबार १२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।