एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

एक महिने स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै

काठमाडौँ : पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज शनिवार विधिपूर्वक समापन गरिँदैछ।

पौष शुक्ल पूर्णिमादेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबिच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।

विधिपूर्वक एक महिने व्रत बसेका व्रतालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई एवम् मित छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ।

सय रोटी फलाहार गरी व्रतालु रातमा जाग्राम बस्छन्।  जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो।

उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ। व्रतपछि बिछोडमा परेका नाग नागिनीसमेतको पुनः मिलन भएको कथामा उल्लेख छ।

गोमा ब्राह्मणीले सप्त ऋषिले सिकाएको ब्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ। 

आज शनिवार मध्याह्नकाल पछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जागराम बसी आइतबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुने विधि रहेको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राडा देवमणि भट्टराईले बताए।

उपत्यकाको पूर्वीभेगस्थित शालिनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिँदैछ। विगत वर्षमा करिब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षितसाथ राखिएको छ।

फागुन १५, २०७७ शनिबार ०७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।