संसद् बैठकको व्यवस्थापकीय तयारी, मिति तोक्न ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ। सङ्घीय संसद् भवन नयाँबानेश्वरको बैठक कक्षको सरसफाइ, कुर्सी मिलाउने काम भइरहेको सचिवालयले बताएको छ।
कोरोना महामारी अन्त्य नभएकाले स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने सङ्घीय संसद् सचिवालयका सचिव गोपाल नाथ योगीले बताए। ‘छैटौँ अधिवेशनमा जस्तै सांसदहरूको स्वास्थ्यको ख्याल गरेर बैठक बस्नेछ, सचिव योगीले उकेरासँग भने, त्यसका लागि स्वास्थ्य विज्ञहरूसँग छलफल गर्दैछौ।’
सामान्यतया एक हप्ता अगाडी संसद् अधिवेशन आव्हान हुने गरेको छ। तर, असार १८ मा अन्त्य भएको छैटौँ अधिवेशन ५ दिन अगाडी आव्हान भएको थियो भने पुस १७ गते बसेको राष्ट्रिय सभाको बैठक पनि ५ दिन अगाडी नै आव्हान भएको थियो।
१३ दिनभित्र संसद् बैठक बस्नु पर्ने सर्वोच्च अदालतको आदेश अनुसार फागुन २३ भित्र संसद् बैठक बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आव्हान गर्नुपर्नेछ। संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न आज शुक्रवार बेलुकी ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले अधिवेशन आव्हान गर्ने दिन तोकेर राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश अनुसार संसद् बैठक बोलाउने तयारीका लागि भन्दै नेकपा स्थायी कमिटीको बैठक केही दिनका लागि स्थगित गरेका छन्।
‘२३ गतेभित्रै बैठक बस्नु पर्ने भएकाले उपत्यका बाहिर रहेका सांसदलाई आउने बाटोको समय अनुमान गरेर मिति सिफारिस हुनेछ,’ ती मन्त्रीले भने,‘ आज मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस हुनसक्ने सम्भावना छ।’
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाका अनुसार बैठकमा मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ। संसद् बैठकको मिति तोक्ने विषय मन्त्रीपरिषद् बैठक बसेपछि मात्रै थाहा हुने मन्त्री ठगुन्नाले बताए।
फागुन १४, २०७७ शुक्रबार १६:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।