थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न सकिदैन : डा. केसी
काठमाडौँ : डा. गोविन्द केसीले कुनै पनि हालतमा गैर कानुनी कार्यमा संलग्न नहुन काठमाडौँ विश्वविद्यालयका पदाधिकारीहरूलाई चेतावनी दिएका छन्।
चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई धम्क्याउने तथा गुण्डागर्दी गर्ने व्यक्तिले काठमाडौँ विश्वविद्यालयका नयाँ पदाधिकारीलाई प्रधानमन्त्री र शिक्षामन्त्रीमार्फत अनुचित दबाबमा पारेर सम्बन्धन लिने चोर बाटो खोजेको प्रस्ट भएको डा. केसी बताए।
डा. केसीले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै हालै काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकमा नयाँ मेडिकल कलेजको सम्बन्धनको विषयले प्रवेश पाएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
केसीले चिकित्सा शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको बताएका छन्। विज्ञप्तिमा अहिले नै काठमाडौँ विश्वविद्यालय अन्तर्गत झन्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेको उल्लेख छ।
तीमध्ये धेरैले मेडिकल शिक्षाको गुणस्तर लत्त्याउँदै व्यापारमा मात्र ध्यान दिएकाले गुणस्तर कायम गर्नका लागि त्यस्ता केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने विषय यस अगाडिका सिनेट बैठकमा समेत उठेको उनले बताएका छन्। अर्कोतिर त्रिविले पनि चिकित्सा शिक्षा ऐन जारी हुनु अगाडि नै पाँचभन्दा बढी कलेजहरूलाई सम्बन्धन दिइसकेको डा. केसी बताउँछन्।
त्यसैले त्रिवि वा काठमाडौँ विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन दिने अवस्थाको कल्पनै गर्न नसकिने उनले बताएका छन्।
फागुन १४, २०७७ शुक्रबार १४:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।