सहरी क्षेत्रको मानव बेचविखन गतिविधि नियन्त्रणका लागि कार्यविधि ल्याइँदै
महानगरले यसबारेको कार्यविधि बन्ने क्रममा रहेको जानकारी दिएको छ।
महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठका अनुसार मानव बेचविखनको स्वरूप परिवर्तन भएको बताउँदै परिवर्तित मानसिकताले सिर्जना गर्ने समस्या समाधानका लागि कार्यविधि ल्याउन लागिएको हो।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सूचना सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने देखिएको बताउँछन्।
सरकारले २०६४ मा मानव बेचविखन विरुद्धको ऐन, २०६५ मा नियमावली र २०७० सालमा कार्यविधि जारी गरेको थियो। यिनै व्यवस्थालाई स्थानीय तहबाट प्रभावकारी कार्यान्वयनका लागि महानगरले कार्यविधि बनाउन लागेको हो।
सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति गठन भएजस्तै नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने र यसमार्फत् बेचविखन नियमन तथा नियन्त्रण गर्ने तयारी रहेको महानगरले जानकारी दिएको छ।
पछिल्लो समय मानव बेचविखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको अध्ययनले देखाएको छ।
अध्ययनका क्रममा यसअघि यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुनेमा पछिल्लो समय श्रमका नाममा आन्तरिकरूपमा ओसारपसार र श्रम शोषण हुने गरेको पाइएको महानगरले जनाएको छ।
यी सबैलाई ऐनअन्तर्गत नियमन गर्न सक्ने प्रावधान राखेर कार्यविधि ल्याउने तयारी भइरहेको छ।
फागुन १३, २०७७ बिहीबार १९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।