यो वर्षको एसइई र कक्षा १२ को परीक्षा जेठमा
राष्ट्रिय परीक्षा बोर्डका प्रमुख चन्द्रमणि पौडेलका अनुसार बोर्डले एसइई र कक्षा १२ को परीक्षा २०७८ जेठमा गर्ने गरी तयारी गरिएको बताए।
‘सरकारले जेठ अन्तिममा शैक्षिक सत्र सक्ने भनेपछि सोही अनुसार राष्ट्रिय स्तरका परीक्षाहरू गर्ने तयारी गरेका छौं,’ पौडेलले भने।
पौडेलका अनुसार कक्षा ११ को परीक्षा भने असारमा मात्रै हुनेछ। कक्षा ११ को पढाइ ढिला भएको कारणले कक्षा ११ को परीक्षा असारमा हुने भएको हो। कक्षा ११ को परीक्षा विद्यालयले नै लिने सरकारले निर्णय गरिसकेको छ।
शैक्षिक सत्र जेठमा सकिने भएपछि विद्यालयहरूले जेठमा नै आन्तरिक परीक्षा लिइसक्नु पर्नेछ।
यसअघि चैतमा एसइई र वैशाखमा कक्षा १२ को परीक्षा सञ्चालन हुने गरेको थियो। तर, यो वर्ष कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण शैक्षिक सत्र जेठमा अन्त्य गरिन लागिएको हो।
मन्त्रिपरिषद्को माघ २६ गतेको बैठकले विद्यालय तहको परीक्षाको सञ्चालन र व्यवस्थापनको लागि शिक्षा नियमवली संशोधन गर्नुपर्ने निर्णय गरेको थियो।
सोही निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फागुन ५ गते परीक्षाका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको थियो।
अर्काे वर्षदेखि शैक्षिक सत्र यथावत
अर्काे वर्षदेखि भने शैक्षिक सत्र यथावत रहने भएको छ।
यो वर्षको शैक्षिक सत्र २०७८ जेठमा सकिए पनि अर्काे वर्षको शैक्षिक सत्र भने चैतमा नै सकिने शिक्षा मानव स्रोत तथा विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले बताए।
‘यो वर्ष धेरै विद्यालयहरू कात्तिकदेखि खुले। त्यसकारण शैक्षिक सत्र दुई महिना पर गयो,’ दाहालले भने, ‘अर्काे वर्ष भने शैक्षिक सत्र यथावत रहन्छ।’
पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम समायोजन गरेकाले अर्काे वर्ष शैक्षिक सत्रमा समस्या नहुने दाहालको तर्क छ।
्पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक वर्षमा पाठ्यक्रम समायोजन गरेको थियो। यही समायोजन गरेको पाठ्यक्रम अर्काे वर्ष पनि अध्यापन गराइने र बिदा काटेर भए पनि पढाइने भएकाले अर्काे वर्ष शैक्षिक सत्र चैतमा नै सकिने उनको भनाइ छ।
फागुन १३, २०७७ बिहीबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।