मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास कार्यक्रम स्थगित
बुटवल : रुपन्देहीकै बहुप्रतिक्षित परियोजनाका रूपमा अगाडि बढाइएको मोतीपुर औद्योगिक कोरिडोरको आज बिहीबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगित भएको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कार्य व्यस्तताका कारण शिलान्यास कार्यक्रम स्थगित भएको जनाएको छ।
अर्थमन्त्रीले समय दिन नभ्याउने भएपछि कार्यक्रम स्थगित गरिएको बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक निमेश अधिकारीले जानकारी दिए। आज शिलान्यास हुने भनिएको कार्यक्रम स्थगित गरी अर्को हप्ताका लागि सारिएको बताईएपनि मिति भने तोकिएको छैन।
सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गर्ने फैसलासँगै केन्द्रीय राजनीतिमा आएको उतार चढावका कारण अर्थमन्त्री पौडेल व्यस्त भएकोले परियोजनाको शिलान्यास कार्यक्रम स्थगित भएको बताईएपनि स्थानीयले अवरोध गर्ने बताएपछि स्थगित गरिएको बुझिएको छ।
केही दिन अघि औद्योगिक कोरिडोर पीडित स्थानीयले आफ्ना मागहरू पुरा नगरी शिलान्यास नगर्न माग गरेका थिए।
फागुन १३, २०७७ बिहीबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।