जलहरी राखिसकेपछि सर्वोच्चको आदेश : पशुपतिनाथमा सुनको जलहरी लगाउने काम रोक्नू
काठमाडौं : सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने काम तत्कालका लागि रोक्न आदेश जारी गरेको छ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले सो आदेश जारी गरेको हो।
बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नितिका ढुंगानाले पशुपतिनाथको ज्योतिर्लिंगमा सुनको जलहरी नलगाउन माग गर्दै सर्वोच्चमा दायर गरेको छुट्टाछुट्टै रिटको सुनुवाइ गर्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो।
अदालतले १५ दिनभित्र विपक्षीहरूलाई लिखितरूपमा अदालतमा उपस्थित हुनसमेत आदेश दिएको छ।
रिट निवेदकले प्राचीन स्मारक संरक्षण ऐन अनुसार जलहरी राख्ने निर्णय कानुनसम्मत भएको र आर्थिक कारणले समेत निर्णय औचित्यहीन भएको, भन्दै अन्तरिम आदेशको माग गरेका थिए।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोष, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मन्त्री एवं कोषका अध्यक्ष भानुभक्त ढकाल, कोषका सदस्य सचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष तथा जलहरी निर्माण व्यवस्थापन समिति संयोजक मिलनकुमार थापा, नेपाल राष्ट्र बैंक, गुठी संस्थान र पुरातत्त्व विभागलाई विपक्षी बनाइएको थियो।
पशुपति क्षेत्र विकास कोषले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आज (बुधबार) पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगमा सुनको जलहरी राखेको थियो।
कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘हामीले एक महिनादेखि जलहरी राख्ने काम गरिरहेका थियौं। आज राष्ट्रपतिबाट विधिवत रूपमा पूजा आराधना गरी जलहरी राखिएको छ।’
जलहरी आज दिउँसो १२ बजे राखिएकोमा सर्वोच्चको आदेश भने ४ बजेपछि मात्रै आएको हो।
फागुन १२, २०७७ बुधबार १९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।