श्रीमती हत्या गर्नेलाई १६ वर्षको जेल
बुटवल : जिल्ला अदालत, परासीले श्रीमती हत्याका अभियुक्त सुनवल नगरपालिका–७, तरगौलीका युवकलाई दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको छ।
न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले ३२ वर्षीय रामकुमार श्रेष्ठलाई २१ वर्षीया अस्मिता श्रेष्ठको हत्यामा दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाएको जिल्ला सरकारी वकील कार्यालय, परासीका सूचना अधिकारी एवं जिल्ला सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले जानकारी दिए।
यसअघि पीडितको पक्षमा जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुुर सिंजाली र जिल्ला सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले गरेको बहसमा अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को ज्यानसम्बन्धी कसुर ठहर गर्दै रामकुमारलाई जन्मकैदको फैसला गरेको थियो।
कसुरअन्तर्गत २५ वर्ष जेल सजाय ठहर गरिएको भए पनि अदालतले फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १७ (क) बमोजिम १६ वर्षको जेल सजाय फैसला गरेको जिल्ला सहायक न्यायाधिवक्ता घिमिरेले बताए।
रामकुमारले गत कात्तिक २७ गते दिउँसो आफ्नै कोठामा रहेकी अस्मिताको घाँटी थिचेर हत्या गरेका थिए।
प्रहरी र अदालतसमक्ष रामकुमारले दिएको बयान अनुसार सामान्य भनाभनका क्रममा आफूहरूबीच झगडा भएको र सोही क्रममा आफूले घाँटी थिचेरै हत्या गरेको स्वीकार गरेका थिए।
श्रीमतीको घाँटी थिचेर हत्या गरेका रामकुमारले घटनास्थल पुगेका प्रहरीलाई भने श्रीमतीले झुण्डिएर आत्महत्या गरेको बताएका थिए।
घरमा कोही नभएको समयमा अस्मिताले पासो लगाई झुण्डिएको र आफू घर आउँदा झुण्डिएको अवस्थामा देखेपछि डोरी फुकाएर उपचारका लागि अस्पताल पुर्याएकाे प्रहरीसमक्ष बताएका थिए। घटना लुकाउने र सामसुम पार्ने योजना बनाएका रामकुमारले दिदीभिनाजु र दाजुभाउजूको साथमा श्रीमतीलाई अस्पताल पठाएर आफू भने घरमै बसेका थिए।
उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पुर्याइएकी उनलाई बेहोश भएर ढलेको भन्ने झुठो बहाना बनाएर भर्ना गर्ने प्रयास गरिए पनि त्यहाँ कार्यरत चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।
उपचारका लागि परीक्षण गर्ने क्रममा उनको घाँटीमा नीलडाम देखिएको भन्दै चिकित्सकले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य बाहिरिएको थियो।
घटनाको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, परासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठको नेतृत्वमा खटिएकोे टोलीले घटनास्थल पुगेर सोधखोज र स्थलगत अनुसन्धान गरेको थियो।
अस्मितका बुबा कृष्णप्रसाद श्रेष्ठले गत मंसिर ५ गते छोरीको हत्या गरेको भन्दै ज्वाइँ रामकुमारविरुद्ध जिल्ला प्रहरी कार्यालय, परासीमा जाहेरी दिएका थिए। त्यसको पर्सिपल्ट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय, परासीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो।
फागुन १२, २०७७ बुधबार १८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।