अबको प्रधानमन्त्री पनि केपी ओली : शिक्षा मन्त्री श्रेष्ठ 

अबको प्रधानमन्त्री पनि केपी ओली : शिक्षा मन्त्री श्रेष्ठ 

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक अवस्थामा ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताए। 

सिटिइभीटीको ३३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ।’ उनले संसद् सुरु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले फेस गर्ने बताए।  उनले भने, ‘अदालतले गरेको निर्णयलाई सम्मान गर्छौ तर यो निर्णयले झन् विवाद बढाएको छ।’

उनले संसद् पुनर्स्थापना भएपछि पनि अबको प्रधानमन्त्री पनि केपी ओली नै हुने बताए। ‘ हामीले फागुन १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउँदा गलत भएको छ,’ उनले भने, ‘अदालतको फैसलाबाट राजनीतिक मैदान खुला भएको छ, हामी मैदानमा उत्रिएका छौ, खेल खेल्ने तयारीमा छौ, हामीले गोल गरेरै देखाउँछौ।’ 

नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्दै फेसबुकमा स्ट्याटस लेख्ने र  सडकमा कुर्लिनेहरूलाई उनले अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए। उनले भने, ‘काग भएर मयुरको प्वाँख राखेर कराउँदै हिँडेका छन्, जनताले असली मयुर चिनेर प्वाँख हाल्ने मयुर रुपी काग बन्नेलाई धिक्कार गर्नेछन्।’ 

फागुन १२, २०७७ बुधबार १२:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।