रूपन्देही बालिका हत्याबारे प्रहरीको प्रारम्भिक अनुसन्धान : श्रीमानसँगको झगडाले छोरीको हत्या 

रूपन्देही बालिका हत्याबारे प्रहरीको प्रारम्भिक अनुसन्धान : श्रीमानसँगको झगडाले छोरीको हत्या 

बुटवल : श्रीमानसँगको झगडाले रूपन्देहीकी एक महिलाले छोरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार  मायादेवी गाउँपालिका–३, हरहरवाकी २१ वर्षीया प्रेमा यादवले श्रीमान राजकुमार यादवसँगको झगडाका कारण आफ्नी एक वर्षीया छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। 

प्रहरीका अनुसार प्रेमाले आफ्नै कोठाको पंखामा छोरीको घाँटी बाँधेर हत्या गरेको र त्यसपछि आफूले आत्महत्यको प्रयास गरेको बयान दिएकी छन्। 

बालिकाको शव घरनजिकैको खोलामा गाड्न खोज्दा घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार  गत आइतबार राति ९ बजे परिवारका सदस्यहरूले बालिकाको शव घरनजिकैको खोलामा गाड्न लागेको जानकारी पाएपछि प्रहरी टोली त्यहाँ पुगेको र मृतक बालिकाको घाँटीमा दाग देखिएपछि पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको जानकारी दिए। 

त्यसपछि घटनाको अनुसन्धानको लागि प्रहरीले प्रेमासहित उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासू ४५ वर्षीया राजमति यादव, पति २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीया प्रदीप चौधरीलाई नियन्त्रणमा लिएको छ। 

यसकारण बालिकाको हत्यापछि आत्महत्या प्रयास गरेकी थिइन् प्रेमाले

रूपन्देही प्रहरीका अनुसार प्रेमा यादव र लुम्बिनी सांस्कृतिक नगरपालिका–९ बस्ने प्रदीप चौधरीबीच प्रेमसम्बन्ध थियो।

तर, प्रेमाको विवाह राजकुमार यादवसँग भयो। विवाहको ७ महिनामै बच्चा जन्मिएपछि राजकुमारले श्रीमतीमाथि शंका गर्न थाले। 

सोही विषयलाई लिएर दुबैबीच विवाहको केही समयसम्म खटपट र झगडा भएको थियो। त्यसपछि दुवैबीच सम्बन्ध असामान्य हुँदै गयो। 

त्यहीबीच राजकुमारले प्रेमाको अर्को पुरुषसँग प्रेम सम्बन्ध रहेको र उनीहरूबीच कुराकानी हुने खबर पाए।

आफूहरूबीचको खटपटबारे प्रेमाले प्रदीपसँग कुरा गरेको राजकुमारले थाहा पाए। 

श्रीमानसँगको झगडापछि प्रेमामा एकोहोरोपना आएको तथा माइग्रेसनको समस्या जस्तो देखिन थालेपछि राजकुमारमा झनै शंका बढ्यो। 

तनावमा रहेकी प्रेमाले छोरीलाई मार्ने र आफू पनि मर्ने योजना बनाइन्। र, छोरीको हत्यापश्चात आत्महत्या गर्ने प्रयास गरेको प्रहरीसमक्ष बयान दिएकी छन्। 

फागुन १२, २०७७ बुधबार ०१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।