विप्लव समूहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएन : मन्त्री महतो

विप्लव समूहबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएन : मन्त्री महतो

काठमाडौँ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतोका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेत्र विक्रम चन्द समूहमाथि लागेको प्रतिबन्ध फुकुवाबारे कुनै छलफल भएन।

मन्त्रिपरिषद् बैठक अगाडि बसेको राष्ट्रिय सुरक्षा परिषद्मा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवाबारे छलफल भएको थियो।

बैठकमा भएको छलफल अनुसार मन्त्रिपरिषद्बाट विप्लव समूहमाथिको सरकारी प्रतिबन्धको फुकुवाको निर्णय हुनसक्ने सम्भावना थियो। महतोको दाबी अनुसार बैठकमा यसबारे केही छलफलै भएन।

फेवाताल नाप्ने निर्णय

मन्त्रिपरिषद्को बैठकले फेवातालको मापन गर्ने निर्णय गरेको महतोले उकेरालाई जानकारी दिइन। ‘सगरमाथाको उचाइ मापन जस्तै फेवातालको पनि मापन हुन लागेको हो,’ उनले भनिन् ‘ फेवाताल मापन गर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्ताव स्वीकृत भएको हो।’ उनले महिला मन्त्रालयको वृद्ध भत्ता सम्बन्धी निर्देशिका स्वीकृत भएको बताइन। 

बैठकले केही मन्त्रालयको सहसचिवहरूको सरुवा र पदस्थापन गरेको कानुन मन्त्री लीला नाथ श्रेष्ठले जानकारी दिए। 

फागुन ११, २०७७ मंगलबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।