सुरक्षा परिषद्मा विप्लवबारे छलफल, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार
काठमाडौं: राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सशस्त्र गतिविधि गरिरहेका नेत्रविक्रम चन्द विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवापछि सुरक्षामा पर्न सक्ने असरबारे छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकमा विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउँदा के हुनसक्छ भनेर प्रधानमन्त्रीले परिषद्मा रहेका गृह, अर्थ मन्त्रालयका मन्त्री, मुख्य सचिव र प्रधानसेनापतिसँग छलफल गरेका थिए। परिषद्मा रहेका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भने बैठकमा उपस्थित थिएनन्।
बैठक स्रोतका अनुसार प्रधानमन्त्रीले मुख्य त प्रधानसेनापति पूर्णचन्द्र थापासँग बढी सरोकार राखेका थिए। सशस्त्र गतिविधिमा संलग्न रहे पनि सैन्य शक्ति र हतियारको आधारमा त्यत्ति ठुलो सुरक्षा चुनौती नहुन सक्ने तर राजनीतिक गतिविधिको छुट पाउँदा अराजक गतिविधि भने बढाउन सक्ने ब्रिफिङ भएको स्रोतले बतायो।
पछिल्लो समय सरकारले विप्लवसँग वार्ताको प्रयास गरिरहेको छ भने विप्लव समूहले वार्तामा बस्न सकारात्मक जवाफ दिए पनि पूर्व सर्तको रूपमा पहिला प्रतिबन्ध हट्नुपर्ने र दोस्रो सर्तमा विभिन्न अभियोगमा हिरासत र जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइको माग अगाडि सारेको छ।
अहिले मन्त्रीपरिषद्को बैठक बसिरहेको छ।
फागुन ११, २०७७ मंगलबार १३:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।