बेलहिया नाकामा आन्दोलनरत व्यावसायीलाई भारतीयको साथ
भैरहवा : बेलहिया–सुनौली नाका व्यवस्थितरूपमा सञ्चालनको माग गर्दै बेलहियामा आन्दोलनरत रूपन्देहीका होटल तथा पर्यटन व्यावसायीले भारतीय व्यावसायीको साथ पाएका छन्।
सीमा नाका सञ्चालन नहुँदा व्यापार–व्यवसाय धरासायी भएको भन्दै भारतीय व्यावसायीले आन्दोलनमा सहभागी भएर ऐक्यवद्धता जनाएका हुन्।
आन्दोलनमा भारतीय व्यावसायी सहभागी भएपछि दुवै देशका व्यावसायीले केही बेर नाराबाजीसमेत गरे।
बेलहिया नाका सहजरूपमा सञ्चालन गर्नुपर्ने माग राखी रूपन्देहीका होटल तथा पर्यटन व्यावसायी यही फागुन ३ गतेदेखि आन्दोलनमा छन्।
सरकारले गत माघ १६ गते कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीपछि बन्द गरिएका भारत र चीनतर्फका ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो। त्यसको तीन साता बित्दा पनि नाका सहजरूपमा सञ्चालन हुन सकेका छैनन्। यसतर्फ सरकारले चासो नदेखाएको व्यावसायीको आरोप छ।
भारतको गोरखपुरस्थित नव व्यापार मण्डल प्रदेश अध्यक्ष समसाद खान (भोला)ले भारतीय व्यावसायी नेपाली व्यवसायीसँग हातेमालो गर्दै अगाडि बढ्ने बताए। सीमा नाका सहजरूपमा सञ्चालन नहुँदा भारतको व्यापार–व्यवसायमा पनि असर परेको उनको भनाइ छ।
यस्तै, सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ नाका सहजरूपमा सञ्चालन नभएपछि रूपन्देहीको होटल तथा पर्यटन क्षेत्र पूर्णरूपमा प्रभावित बनेको बताए।
सरकारको गैरजिम्मेवारीका कारण पर्यटक व्यवसाय पूर्णरूपमा धरासायी बनेको उनको आरोप छ। उनले आगामी पाँच दिनभित्र नाका सहजरूपमा सञ्चालन नगरिए सीमानाका ठप्प पार्ने चेतावनी दिए।
सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स लुम्बिनी प्रदेशका अध्यक्ष सञ्जय बजिमयले सीमा नाका नखुलेका कारण भारत तथा तेस्रो मुलुकबाट आउने पर्यटक भित्रिन नसक्दा पर्यटन व्यावसायीको रोजीरोटी गुम्ने अवस्था आएको बताए। नाका सहजरूपमा सञ्चालन भए दैनिक सयौंको संख्यामा विदेशी पर्यटक भित्रिने उनको दाबी छ।
बेलहिया नाका सहजरूपमा सञ्चालन गर्न माग गर्दै सान, सिद्धार्थ उद्योग बाणिज्य संघ, उद्योग व्यापार संगठन गरी एक दर्जन संघसंस्थाले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
फागुन ९, २०७७ आइतबार २२:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।