बेलहिया नाका व्यवस्थितरूपमा सञ्चालन गर्न कांग्रेस नेता खाँणको माग 

बेलहिया नाका व्यवस्थितरूपमा सञ्चालन गर्न कांग्रेस नेता खाँणको माग 

भैरहवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले बेलहिया नाका सुरक्षित र व्यवस्थित रूपमा यथाशीघ्र सञ्चालन गर्न माग गरेका छन्।

उनले आज (आइतबार) ध्यानाकर्षण पत्र जारी गर्दै सीमा नाका व्यवस्थितरूपमा सञ्चालन गर्न माग गर्दै आएका होटल तथा पर्यटन व्यावसायीको दबाबमूलक कार्यक्रममा समेत ऐक्यवद्धता जनाएको बताएका छन्। 

‘रूपन्देहीको सिद्धार्थनगरका उद्योगी तथा पर्यटन व्यावसायीहरूले बेलहियास्थित नेपाल–भारत सीमा नाकालाई व्यवस्थित र सुरक्षितरूपमा संचालनका लागि गरिरहनुभएको पहल सकारात्मक छ,’ उनले ध्यानाकर्षण पत्रमा भनेका छन्, ‘सीमा नाका संचालनका विषयमा सरकार गम्भीर बनोस्।’ 

सरकारले लकडाउनको १० महिनापछि खुलाएका सीमा नाका व्यवस्थितरूपमा सञ्चालन नहुँदा पर्यटन भित्रिन नसकेको भन्दै रूपन्देहीका होटल तथा पर्यटन व्यावसायीले नाकामा दबाबमूलक कार्यक्रम गरिरहेका छन्। 

सरकारले गत माघ १६ गते कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी सुरु भएपछि बन्द गरेका नेपाल र चीनतर्फका नाका खोल्ने निर्णय गरेको थियो। तर, उक्त निर्णय गरेको तीन साताभन्दा बढी बित्दासमेत बेलहिया नाकाबाट सहज आवतजावत हुन सकेको छैन। 

फागुन ९, २०७७ आइतबार २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।