प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस
काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ।
आज (आइतबार) ढिलो सुरु भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका सांसद् इन्द्रबहादुर आङ्बोले नेकपाकै ओली समूहका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेका हुन्।
प्रस्ताव पेश भएलगत्तै सभामुख प्रदीप भण्डारीले फागुन २० गते १ बजेसम्मको लागि बैठक स्थगित भएको घोषणा गरे।
यसअघि अविश्वासको प्रस्ताव दर्ता गर्दा नेकपाका ३७ जना सांसदहरूले हस्ताक्षर गरेका थिए। तर, आज प्रस्ताव पेस गर्नुअघि सभामुख प्रदीप भण्डारीले पाँच जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएकोबारे जानकारी गराएका थिए। योसँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरू ३२ जना मात्रै छन्।
कुल ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ जना सांसद छन्। सरकार गठनको लागि ४७ जना सांसद् आवश्यक छ। यसका लागि नेकपाको दुवै समूहलाई कांग्रेसको साथ आवश्यक पर्छ।
कांग्रेसले पनि अविश्वासको प्रस्तावको पक्षमा लाग्ने तयारी थालेको छ।
फागुन ९, २०७७ आइतबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।