प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको कार्यसूची, ओली समूहद्वारा संसद् बैठक बहिष्कार
इटहरी : प्रदेश १ को प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ।
प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठकको कार्यसूचीमा अविश्वासको प्रस्ताव रहेको जानकारी दिएको हो।
संसदमा अविश्वास प्रस्ताव दर्ता हुने भएपछि सत्तारुढ ओली समूहले बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।मुख्यमन्त्रीको कार्यालयमा बसेको ओली समूहका सांसद्हरूको छलफलले बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसूचीसम्बन्धी सूचनामा नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावलीको नियम १२९ (४) बमोजिम पेस हुने उल्लेख गरिएको छ।
प्रदेशसभामा सरकार गठनमा निर्णायक देखिएको नेपाली कांग्रेसलाई फकाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुवै समूह प्रयासरत छ।
दिउँसो २ बजे सुरु हुने भनिएको सातौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक दुई घण्टा बित्दासमेत सुरु हुन सकेको छैन।
यसअघि मुख्यमन्त्री राईले प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीलाई संसद् बैठक रोक्न दबाब दिएका थिए।
आजै बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएको सभामुख भण्डारीले जानकारी गराए। अघिल्लो बैठकमा पनि राईले भण्डारीलाई भेटेरै बैठक रोक्न आग्रह गरेका थिए।
भण्डारीले राईको दबाब नमानेपछि सत्तारुढ दलका सांसद्लै बैठक अवरुद्ध गरेका थिए।
यसलाई विपक्षी दलहरूले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्। जसरी पनि अविश्वासको प्रस्ताव दर्ता हुनुपर्ने कांग्रेसको धारणा छ। सरकारले संसद् छल्न नहुने भन्दै लोकतान्त्रिक बिधिबाट नयाँ मुख्यमन्त्री चयनको बाटो खुला गरिनुपर्ने कांग्रेसले बताउँदै आएको छ।
संसद् बैठक नचलेपछि नेकपाको दाहाल–नेपाल र ओली समूहले कांग्रेससँग छुट्टाछुट्टै छलफल सुरु गरेको छ। कांग्रेस संसदीय दलका नेता ओली समूहको छलफलमा छन् भने प्रमुख सचेतक केदार कार्की दाहाल–नेपाल समूहसँगको छलफलमा छन्।
फागुन ९, २०७७ आइतबार १६:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।