नेपालले किनेको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो
काठमाडौं : सरकारले भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाबाट खरिद गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको १० लाख डोज खोप आइपुगेको छ।
एयर इन्डियाको विमानबाट ल्याइएको उक्त खोप आज (आइतबार) दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो।
सरकारले गत बुधबार सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। त्यही सम्झौताअनुरूप पहिलो खेपमा १० लाख डोज ल्याइएको हो।
विमानस्थलमा ल्याइएको खोप भण्डारणका लागि टेकुस्थित ‘कोल्ड रुम’मा लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरूबाट देशैभरका खोप केन्द्रहरूमा वितरण गरिने मन्त्रालयले जनाएको छ।
यसअघि भारतले १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपाललाई अनुदानमा दिएको थियो।
फागुन ९, २०७७ आइतबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।