मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा कोच्ने छौ : गृहमन्त्री थापा
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर थुन्ने धम्की दिएका छन्। उनले दाहाल–नेपाल समूहलाई लक्षित गर्दै यस्तो धम्की दिएका हुन्।
गृहमन्त्री थापाले भने, ‘मांसाहारी आन्दोलनलाई विस्थापित गरिने छ। मांसाहारी आन्दोलन गर्नेलाई ‘जु’ (चिडियाखाना) मा’ लगेर थुनिने छ।’ मांसाहारी आन्दोलनलाई संविधानले अपराधी घोषित गरेको उनले बताए।
जनतामा गएर मात्रै कम्युनिस्ट आन्दोलनको शुद्धीकरण गर्न सकिने उनको तर्क छ। आगामी निर्वाचन आन्दोलन भएको उनको तर्क छ। उनले भने,‘ऐतिहासिक जनआन्दोलनलाई विजयसम्म पुर्याउने छौँ।’
नारायणहिटी अगाडी कार्यक्रम गर्नुको उद्देश्य राजतन्त्रको स्थापन हैन गणतन्त्रको रक्षाका लागि भएको उनको तर्क छ। उनले भने, ‘आज नारायणहिटी दरबारमा भएको जनसभाले गणतन्त्र रक्षाको सन्देश दिएको छ।’
सुरुमा नै नारायणहिटीमा आयोजित कार्यक्रम भनेर उनले सम्बोधन सुरु गरेका थिए। सिङ्गो नेपाल समाजवादको पक्षमा आन्दोलित भएको उनले बताए। असाधारण परिस्थित सृजना हुनुको पछाडि राजनीतिक सत्तासँग जोडिएको उनको तर्क छ।
यस्तो परिस्थिति सिर्जना हुनुका पछाडि ३ वटा प्रश्न जोडिएको गृहमन्त्रीको तर्क छ। प्रधानमन्त्री, राष्ट्रप्रमुख र राजनीतिक प्रतिनिधिको नेतृत्वसँग प्रश्न जोडिएको उनको तर्क छ। उनले भने,‘पार्टीको अध्यक्षलाई अपदस्थ गर्नेसँग प्रश्न जोडिएको छ।’ यो अस्थिरता राष्ट्रपतिलाई विस्थापित गर्नेसँग जोडिएको उनको तर्क छ।
यो परिस्थितिलाई सामना गर्न र जनतालाई आन्दोलित गरेर मात्रै राजनीतिक नेतृत्वको र राजनीतिक प्रणालीको रक्षा गर्न सकिने उनको तर्क छ। गृहमन्त्री थापाले तेस्रो जनआन्दोलन सुरु भएको समेत बताए।
माघ २३, २०७७ शुक्रबार १४:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।