ओली समूहका नेता श्रेष्ठले भने : ‘कुकुरले टोक्न आयो भन्दैमा टोक्न जाँदैनौ’ 

ओली समूहका नेता श्रेष्ठले भने : ‘कुकुरले  टोक्न आयो भन्दैमा  टोक्न  जाँदैनौ’ 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता कृष्ण गोपाल श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सङ्कटमा परेको बताएका छन्। शिक्षा मन्त्री समेत रहेका श्रेष्ठले संविधानको रक्षाका लागि सडकमा उत्रिरहेको बताए। 

संविधान रक्षाकै लागि ताजा जनादेशको अर्को विकल्प नरहेको श्रेष्ठले जिकिर गरे। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनविरुद्ध सडक सङ्घर्ष गरिरहेकाहरूलाई श्रेष्ठले संविधान रक्षाकै लागि ताजा जनादेशमा जान लागेको जिकिर गरे।

उनले प्रतिनिधि सभा विघटन विरुद्ध सडक सङ्घर्ष गरिरहेका नेकपा दाहाल नेपाल समूहलाई मयुरको प्वाँख लगाउने नक्कली कागहरूको संज्ञा समेत दिए। 

नेकपा ओली समूहको नारायणहिटीमा भइरहेको सभामा नेता श्रेष्ठले नक्कली जति बाहिर गइसकेको बताउँदै सक्कली कम्युनिस्ट ओली नेतृत्वको नेकपासँग रहेको सुनाए।

‘मयुरको प्वाँख लगाएका कागहरू झुक्काएर बसेका थिए।’ उनले भने, सिसाका टुक्राहरू फुटेर गए, हिराका टुक्राहरू यहाँ (नारायणहिटी) मा छन्।’

उनले जनता न्यायाधीश हुन भन्दै आफूहरू बयान दिन आएको बताए। नेकपा दाहाल नेपाल समूहलाई कटाक्ष गर्दै उनेले भने, ‘कुकुरले टोक्न आयो भन्दैमा हामी टोक्न जाँदैनौ।’ 

नेता श्रेष्ठले अनुशासन नै विकासको प्रतीक हो भने। ‘हामीलाई अनुशासन कसैले सिकाउनु पर्दैन।’ उनले भने, ‘हामी आफैँ बनाउँछौ।’ 

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली कार्यक्रम स्थल नारायणहिटीमा पुगिसकेका छन्। 

माघ २३, २०७७ शुक्रबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।