संविधानको बलात्कार गर्ने केपी ओली र विद्या भन्डारीलाई जनताले दण्डित गर्नुपर्छ : डा.केसी
संविधानमै व्यवस्था नभएको अधिकार प्रयोग गरेर ओलीले जनताको सर्वोच्च निकाय संसद विघटन गरेको भन्दै डा. केसीले प्रधानमन्त्री र राष्ट्रपति मिलेर संविधानको बलात्कार गरेको आरोपसमेत लगाए।
संसद विघटनविरुद्ध शनिबार माइतीघरमा आयोजित शान्तिपूर्ण बिरोध सभालाई संबोधन गर्दै डा. केसीले भने,‘यो संविधान तीन करोड जनताको त्याग र बलिदानबाट प्राप्त भएको हो। केपी ओली र विद्या भण्डारीको पैत्रिक सम्पति होइन्। दिउसै नग्नरुपमा संविधानको बलात्कार भएपछि जनता सडकमा आउनु स्वभाविककै हो।’
संविधान ल्याउन रगत र पसिना बगाएका जनताले यस्ता तानाशाहीलाई दण्डित गरेरै छोड्ने डा. केसीको भनाइ थियो।
ओली र भण्डारी मिलेर बलात्कार गरेको संविधानको रक्षा न्यायालयले मात्र गर्न सक्ने भन्दै केसीले जनताले त्यो अपेक्षा गरिराखेको बताए। न्यायालय पनि यतिबेला अग्नी परीक्षामा रहेको उनको भनाइ थियो।
‘न्यायालय पनि यतिबेला अग्नी परीक्षामा छ। यदि न्यायालयले पनि संविधानको रक्षा गरेन भने जनता न्यायालयको बिरुद्धमा पनि उत्रिन्छन्’ उनले भने,‘संविधानको रक्षा गर्नु हामी सबैको कर्तव्य हो।’
प्रधानमन्त्री ओली तानाशाही बनेको आरोप लगाउँदै केसीले जनताले तानाशाहलाई ढालेरै छोड्ने बताए।
सो अवसरमा बोल्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने संविधानको परिकलपना नै नभएको बताए।
प्रधानमन्त्री ओलीले सरकार बनाउने धाराको प्रयोग गरेर प्रतिनिधि सभा विघाटन गरेको भन्दै त्रिपाठीले ओली र राष्ट्रपति भण्डारीले आफूलाई इतिहासकै कलंकित पात्रको रुपमा उभ्याउन खोजेको बताए।
‘सरकारले संसद विघटन गरेर संविधानको हत्या गरेको छ। लोकतन्त्रको हत्या गरेको छ। ओलीले आफूलाई संविधान भन्दा पनि माथि सोच्नुभएको छ’ त्रिपाठीले भने,‘उहाँले संविधान भन्दा आफ्नो आदेश र सिफारीस सर्वोच्च ठान्नु भएको छ।’
राष्ट्रपतिले पनि प्रधानमन्त्री ओलीले जे सिफारीस गर्यो त्यो संविधान भन्दा माथि हो भन्ने सोचले काम गरिरहेको उनको आरोप थियो।
प्रधानमन्त्रीले संविधान र संसदको अपहरण गरेको भन्दै त्रिपाठीले उनी कामचलाउ प्रधानमन्त्री भैसकेको बताए। ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार छैन भन्दै त्रिपाठीले जनताले गैरकानुनी प्रधानमन्त्रीलाई बर्खास्त गर्ने बेलाआएको बताए।
‘संविधानको रक्षा र गैरसंवैधानिक कार्य गर्ने निरंकुश प्रधानमन्त्रीलाई अपदस्त गर्न जनआन्दोलन ३ गर्नुपर्ने बेलाआएको छ’ त्रिपाठीले भने,‘संविधान नै अपहरणमा परेको बेला सचेत नागरिकले चुप लागेर बस्नु हुँदैन।’
प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन भनेर ठोकेर भन्ने ओलीले आफूलाई संविधान भन्दा माथि ठानेको उनको भनाइ थियो। न्यायालयलाईसमेत ओलीले धम्क्याइरहेको उनको आरोप थियो।
यस्तै अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले नै संवैधानिक अपराध गरेको बेला सचेत नागरिक चुप लागेर बस्न नहुँने बताए। ओली सरकारले गरेको असंवैधानिक कदमको सबैले प्रतिबाद गर्नुपर्ने बेला आएको भन्दै उनले यसका लागि सशक्त आन्दोलन गर्न जरुरी भएको औंल्याए।
पुष २५, २०७७ शनिबार १४:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।