वामदेवले सुरु गरे नेकपा एकता जोगाउने अभियान

वामदेवले सुरु गरे नेकपा एकता जोगाउने अभियान

संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजन हुँदा पनि तटस्थ रहेका गौतमले पार्टी एकता जोगाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान थालेका हुन्। 

अभियान संयोजकको रूपमा उनले आज (शनिबार) विज्ञप्ति सार्वजनिक गर्दै विभाजित भएका पार्टी सदस्यहरूलाई एकता अभियानमा संगठित हुन सम्पूर्ण सदस्यहरूमा अपिल गरेका हुन्। 

‘तपाईंहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरूलाई सम्झाउनुहोस्,’ विज्ञप्तिमा उल्लेख छ। 

संसद् विघटनपछि नेकपा केपी शर्मा ओली र पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहमा विभाजित भएको छ। संसद् विघटनको दाहाल-नेपाल समूहले विरोध गरिरहेको छ। 

उनले एक अर्कालाई दोष दिँदै सामान्य मानमर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरूलाई हसाउँदै सुरु गरेको लडाइँ बन्द गर्न र पुनर्मिलन गर्न पनि आह्वान गरेका छन्।

‘हजारौं सहिदहरूको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित सञ्चालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्दतिअनुरूप सम्मानजनक ढंगबाट हल गरौं,’ उनले अपिलमा भनेका छन्।

एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरूमा रहेको व्यवस्थापकीय कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरेका छन्। 

यस्तो छ अपिल 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 

एकता राष्ट्रिय अभियान 

अपिल

आदरणीय कमरेडहरू,

आज नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर संकटको मोडमा पुगेको छ। यो संकटले जुर्मुराउँदै उठेको नेपालको कम्युनिस्ट आन्दोलनलाई विभाजनतर्फ धकेलिरहेको छ। 

नेपालको मात्र होइन, एसियाको इतिहासमा पहिलो पटक बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणालीअन्तर्गत कम्युनिस्ट पार्टीले निर्वाचनबाट दुईतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार निर्माण हुनु आफैमा गौरवमय उपलब्धि थियो। यो उपलब्धि माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा विकसित जनताको बहुदलीय जनवाद (जबज)को अभ्यासका क्रममा प्राप्त भएको हो भन्दा अतिशयोक्ति हुने छैन। तर, सरकार संचालनको एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पीडादायी भएको छ।

नेपाली जनताको यति धेरै आशा र भरोसाको केन्द्रका रूपमा रहेको यो पार्टी, राजनीतिक कार्यदिशा, मार्गदर्शक सिद्धान्त, विचार, बहुदलीय समाजवाद निर्माणको कार्ययोजना, पार्टीको रणनीतिक लक्ष्य र वर्ग दृष्टिकोणका सम्बन्धमा होइन, पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार संचालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधहरूको समाधान गर्न नसक्नाका कारण विभाजन उन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरूको अयोग्यताको द्योतक हो।

हामी सबैलाई थाहा हुनुपर्छ, चार दशकदेखि शान्तिपूर्ण संघर्षका विभिन्न रूपहरू प्रयोग गर्दै राष्ट्रिय राजनीतिक केन्द्रको अग्रभागमा उपस्थित एउटा शक्ति र दश वर्षसम्म सशस्त्र संघर्ष संचालनको पृष्ठभूमिबाट विकसित भएको अर्को शक्तिका बीच भएको एकीकरणले नेपालको राजनीतिक जगतमा नयाँ आयाम थपेको थियो।

राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण हैसियत राख्ने दुई कम्युनिस्ट पार्टीको एकीकरण भए तापनि दुवैमा रहेको फरक फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरूको बीचमा अन्तरघुलन हुन केही समय समस्या देखिनु स्वभाविक हो। तर, तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुवैले सहर्ष स्वीकार गरी सकेपछि मतभिन्नता त्यति जटिल हुने देखिँदैन।

सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने सहमति भएकै थियो। तबसम्म सबै कामहरू अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो। पार्टी एकीकरणका निम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो। अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो।

यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरूमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले बेहोर्न पर्ने अवस्था सृजना भएको छ। पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधिसभालाई दुरुपयोग गर्ने सम्मका घटना घट्नु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था हो।

पार्टीभित्र उत्पन्न उपरोक्त समस्या समाधान गर्नुको बदला एकीकरणपछिको यो एक वर्ष नेतृत्वको ध्रुवीकरणमा बित्यो। पार्टीभित्र कुनै पनि तहमा संस्थागत छलफल र निर्णय नगरी छापामार शैलीमा एक अध्यक्षले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्रीका विरुद्ध प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता गराउनु र त्यसको सामना गर्ने वा नसक्ने भए राजीनामा दिनुको बदला प्रतिनिधिसभा भंग गर्नेसम्मका दुर्घटना अहिले पार्टीले बेहोर्नुपरेको छ। 

यतिबेला कार्यकर्ताहरूलाई तानातान गर्दै क. के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र क. पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापरेका छन्। प्रतिनिधिसभा विघटनका विरुद्ध प्रचण्ड समूहका कतिपय व्यक्ति संसद् पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेका छन्। साथै निजी क्षेत्रका दर्जनभन्दा बढी कानुनविदहरू पनि विघटनका विरुद्ध रिट निवेदनसहित सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेकपाको प्रचण्ड समूह भने सडक आन्दोलनमा गएको छ। दुवै समूह नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आफ्नो हक दाबी गर्दै निर्वाचन चिह्नसमेत आफ्नो दाबी गरिरहेका छन्।

उपरोक्त सम्पूर्ण अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुवै समूहलाई समर्थन नगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईंहरूका अगाडि खडा भएको छु। यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्।

उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरू !

एक अर्कालाई दोष दिँदै सामान्य मान मर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानहरूलाई च्याँखे थापेर देश र विदेशका कम्युनिस्ट विरोधीहरूलाई हसाउँदै सुरु गर्नुभएको लडाइँ बन्द गर्नुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं सहिदहरूको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरूलाई पार्टी पद्धति अनुरूप सम्मानजनक ढंगबाट हल गरौं।

देश र विदेशमा रहनुभएका हाम्रो पार्टीका प्रिय कमरेडहरू !

नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रूपमा जुट्नुहोस् रू ! तपाईंहरू जुन ठाउँमा हुनुहुन्छ त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरूलाई सम्झाउनुहोस्। कुनै पनि समूहका नेता कमरेडहरू को गालीगलौजको शैलीमा विरोध नगर्नुहोस्। घरमा आउने कमरेडहरूलाई आफूसक्दो सहयोग गर्नुहोस्। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्। 
कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोस्टर छापेर बाँड्नुहोस्। यसो गर्नुभयो भने प्रिय कमरेडहरू हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरूलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनःएकीकरण गर्न सकिनेछ।

लालसलामसहित एकताको क्रान्तिकारी अभिवादन !

धन्यवाद  !

वामदेव गौतम

संयोजक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान

पुष २५, २०७७ शनिबार १०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।