संसद् विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै 

संसद् विघटनविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गर्दै 

संसद् विघटनलाई असंवैधानिक भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले पुस २५ गते देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो। 

प्रदर्शनअन्तर्गत पार्टी सभापति शेरबहादुर देउवाले शनिबार काठमाडौंको क्षेत्र नम्बर ५ बूढानिलकण्ठमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

प्रदर्शनमा सहभागी भई नेताहरु फर्कन समय लाग्ने भन्दै कांग्रेसले केन्द्रीय समिति बैठकसमेत स्थगित गरेर माघ ६ गतेका लागि बोलाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्। 

यो कदमविरुद्ध कांग्रेसले लगातार देशव्यापी प्रदर्शन गर्न लागेको छ। कांग्रेसले यसअघि पुस १३ गते देशभरका संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। यस्तै, आगामी माघ ८ गते स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा प्रदर्शनको तयारी गरेको कांग्रेसले जनाएको छ।

पुष २५, २०७७ शनिबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।