प्रदेश १ को जिल्ला नेतृत्वमा दाहाल–नेपाल समूह बलियो

प्रदेश १ को जिल्ला नेतृत्वमा दाहाल–नेपाल समूह बलियो

इटहरी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ को जिल्ला नेतृत्वमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह बलियो देखिएको छ। 
 

प्रदेशका १४ जिल्ला इन्चार्जमध्ये १३ जना दाहाल–नेपाल समूहमा देखिँदा १ जना मात्रै  केपी शर्मा ओलीको समूहमा देखिएका छन्। खोटाङका इन्चार्ज विशाल भट्टराई ओली समूहमा छन्। 

यस्तै, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र झापाका इन्चार्ज दाहाल–नेपाल पक्षमा देखिएका छन्। 

जिल्ला अध्यक्षमा भने दुवैको ‘हैसियत’ समान देखिएको छ। दुवै समूहमा समान ७ जिल्ला अध्यक्ष छन्। 

दाहाल–नेपाल समूहमा ओखलढुंगा, खोटाङ, उदयपुर, संखुवासभा, तेह्रथुम, सुनसरी र ताप्लेजुङका अध्यक्ष देखिएको पार्टी स्रोतले जनाएको छ। यस्तै, ओली समूहमा सोलुखुम्बु, धनकुटा, मोरङ, भोजपुर, पाँचथर, इलाम र झापाका अध्यक्ष खुलेका छन्। 

प्रदेश १ को जिल्ला सचिव पनि दाहाल–नेपाल समूहकै बढी छन्। उक्त समूहमा ११ जिल्ला सचिव खुल्दा ओली समूहमा दुई जना मात्रै छन्। 

प्रदेशसभामा ओली समूह अल्पमतमा 

प्रदेशसभामा ओली समूह अल्पमतमा देखिएको छ। अल्पमतमा देखिएपछि ओली समूह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने रणनीतिमा देखिन्छ। 

भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले सोमबार प्रदेश १ मा कांग्रेससँग मिलेर सरकार गठन हुन नसक्ने अवस्था देखिए प्रदेशसभा विघटन हुन सक्ने संकेत गरेकी थिइन्। 
 

पुष २१, २०७७ मंगलबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।