आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री ओली घाँडो भए : नेपाल
काठमाडौं : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री अहिले घाँडो भएको बताएका छन्।
जनता समाजवादी पार्टीले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफैंले प्रस्ताव गरेका प्रधानमन्त्री केपी शर्मा ओली घाँडो भएको बताएका हुन्।
प्रधानमन्त्री ओलीले देशभित्र र बाहिर के प्रभाव पर्छ भन्नेसमेत नसोची बोल्ने गर्दा आफूहरूको शीर झुक्ने गरेको समेत नेपालले बताए।
नेपालले बुहमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको बताए।
‘ओलीले संविधान मिच्ने, निरंकुश र स्वेच्छाचारी काम गर्नुभयो। उहाँलाई पार्टीले अनुशासनको कारवाही गरेर पार्टीबाट बर्खास्त गरिसकेको छ,’ उनले भने। ओलीलाई माया लागे नेकपा ओली गुट भन्न पनि उनले आग्रह गरे।
‘उहाँलाई माया लागे नेकपा ओली गुट भनिदिए हुन्छ,’ उनले भने, ‘उहाँलाई कम्युनिष्ट पार्टी पनि मन पर्दैन। कतिदिन नेकपा रहने हो। उहाँ गणतन्त्र, समावेशी, संघीयताप्रेमी होइन। तर विडम्बना उहाँ नै अध्यक्षमा आसिन हुनुभयो हामी धुँरूधुँरू रोएर बस्यौं।’ उनले ओलीको अधिनायकवादी प्रवृत्तिप्रति संघर्ष जारी रहेको पनि बताए।
पुष २१, २०७७ मंगलबार १८:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।